बैतडी ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीमा महाधिवेशन प्रतिनिधि, सुदूरपश्चिम प्रदेश अधिवेशन प्रतिनिधि तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता प्रक्रिया सुरु गरिने भएको छ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति बैतडीले आज सूचना जारी गर्दै इच्छुक क्षेत्रीय अधिवेशन प्रतिनिधिहरूलाई मनोनयनपत्र दर्ता गर्न आग्रह गरेको हो।
सूचनाअनुसार भोलि दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म जिल्ला समन्वय समितिको सभाहलमा मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको छ।
मनोनयन दर्ताका लागि उम्मेदवारले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको खाता, क्यूआर वा जिल्ला निर्वाचन समितिको नगदी रसिदमा उम्मेदवारी शुल्क तथा लेबीबापतको रकम जम्मा गरेको निस्सा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीसहित देशभर वडा तथा क्षेत्रीय प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ। जिल्लाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।














