बैतडी । बैतडीको पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरि सिंह बिष्टले खोडपेमा निर्माण गरिएको ट्रमा युनिट यथाशीघ्र सञ्चालनमा ल्याउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसमक्ष माग गरेका छन्।
वडा अध्यक्ष हरिश बिष्टले ट्रमा युनिट सञ्चालनसहित वडा नं. ८ का विभिन्न विकास योजनालाई प्राथमिकतामा राखेर आवश्यक बजेट तथा व्यवस्थापन गरिदिन माग गर्दै मुख्यमन्त्रीसमक्ष पत्र पेश गरेका हुन्।
पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेमा ट्रमा युनिट स्थापनाका लागि प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ र नगरपालिकाको थप लगानीमा १७ मिटर लम्बाइ तथा ६ दशमलव ५ मिटर चौडाइको तीन कोठे भवन निर्माण गरिएको पत्रमा उल्लेख छ। भवन निर्माणसँगै आवश्यक केही सामान्य उपकरणसमेत व्यवस्थापन गरिए पनि ट्रमा युनिट लामो समयदेखि सञ्चालनमा आउन नसकेको भन्दै तत्काल चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक उपकरणको व्यवस्था गरी सेवा सुरु गर्न माग गरिएको छ।
बझाङ, बैतडी, दार्चुलालगायत जिल्लालाई जोड्ने मुख्य चौराहाका रूपमा रहेको खोडपे क्षेत्रमा सडक तथा भौगोलिक जटिलताका कारण सवारी दुर्घटना हुने गरेको र दुर्घटनामा परी यात्रुहरूको अकालमा मृत्यु तथा अंगभंग हुने अवस्था रहेको वडा अध्यक्ष बिष्टले उल्लेख गरेका छन्। दुर्घटनाका घाइतेलाई समयमै प्राथमिक उपचार उपलब्ध गराउन सके जनधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले ट्रमा युनिट सञ्चालनलाई विशेष प्राथमिकता दिन आग्रह गरिएको हो।
वडा न८ का वडा अध्यक्ष बिष्टले यसअघि निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहलाई समेत ज्ञापन पत्र बुझाएका थिए । यसैगरि पूर्व सामाजिक विकास मन्त्री रहनु भएका हालका पुर्वाधार मन्त्री ओम विक्रम भाट”सरल”समक्षसमेत ट्रक सेन्टर संचालनको लागि आग्रह गरेका थिए ।

संघीय सरकार समक्ष समेत पटक पटक आग्रह गरिदै आएको थियो । तर हालसम्म संचालनमा आउन सकेको छैन ।
यसैगरी पाटन नगरपालिका अन्तरगतका भौतिक पूर्वाधार अभाव रहेका सामुदायिक विधालयको समस्या समाधानको लागि भवन लगायतका संरचना निर्माणको माग गरिएको पनि नगरपालिकाका सामाजिक विकास समिती सयोजक समेत रहेका अध्यक्ष बिष्टले बताए ।
वडा अध्यक्ष बिष्टले ट्रमा युनिटसँगै पाटन–८ मा कृषि उपजको बजारीकरणका लागि कोल्ड स्टोर तथा हाटबजार निर्माण, आधुनिक डेरी उद्योग सञ्चालन, कृषि एम्बुलेन्स, बृहत् तरकारी संकलन केन्द्र, उन्नत जातका पशुपालन कार्यक्रम र खोडपेमा बहुउद्देश्यीय खेलमैदान निर्माणलगायतका योजनालाई पनि प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्न माग गरेका छन्।
त्यस्तै, ओखलेश्वर पर्यटन क्षेत्र विस्तार तथा शिव मन्दिर ट्रष्ट निर्माण र खोडपे वृहत् खानेपानीका लागि समेत आवश्यक बजेट विनियोजन गरिदिन वडा कार्यालयले प्रदेश सरकारसमक्ष आग्रह गरिएको छ ।
मुख्य प्राथमिकता भने खोडपेमा निर्माण भइसकेको ट्रमा युनिटलाई आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी तत्काल सञ्चालनमा ल्याउने रहेको वडा अध्यक्ष बिष्टले बताएका छन्।















