सात निर्माण कम्पनीसँग सडक डिभिजन बैतडीले तोड्यो ठेक्का सम्झौता

Image

बैतडी, २९ भदौः सडक डिभिजन कार्यालय बैतडीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीसंग ठेक्का सम्झौता तोडेको छ ।

कार्यालयले विभिन्न दश सडक आयोजनाको निर्माण र मर्मतको जिम्मेवारी पाएका निर्माण कम्पनीले सम्झौतामा तोकिएको समयभित्र काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता तोडिएको कार्यालयका सूचना अधिकारी ईन्जिनियर कपिलप्रसाद पन्तले जानकारी दिनुभयो ।

समयमै निर्माण र मर्मत कार्य नगर्ने न्यू सहारा कन्स्ट्रक्सन, जयलक्ष्मी निर्माण सेवा, प्रभास कन्स्ट्रक्सन, नरेन्द्र निर्माण सेवा, कुलगाडे निर्माण सेवा, बिग बी एन्ड कम्पनी प्रालि र रणसैनी निर्माण सेवासंगको ठेक्का सम्झौता तोडिएको उहाँले बताउनुभयो ।

कार्यालयका अनुसार अनारखोली–खोडपे–पाटन सडकखण्डअन्तर्गत सडक किनाराका संरचना मर्मतको ठेक्का न्यू सहारा कन्स्ट्रक्सनले पाएको थियो । खोडपे–बित्थड–चैनपुर सडकखण्डको स्तरोन्नति तथा पुनरोत्थानको जिम्मेवारी जयलक्ष्मी निर्माण सेवाले पाएको थियो ।

त्यस्तै खोडपे–चैनपुर सडक मर्मत, खोडपे–चैनपुर राजमार्गको सडक सुरक्षा कार्य र बित्थड–चैनपुर सडकखण्डको सडक सतह विशेष मर्मतको ठेक्का प्रभास कन्स्ट्रक्सनले पाएको थियो ।

मध्यपहाडी राजमार्गअन्तर्गत सडक सुरक्षा कार्य तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला राजमार्गको सडक सुरक्षा कार्यको ठेक्का कुलगाडे निर्माण सेवाले पाएको थियो । खोडपे–चैनपुर सडकखण्डको सडक पुनरोत्थान कार्यको जिम्मेवारी बिग बी एन्ड कम्पनी प्रालिले पाएको थियो ।

यसैगरी सतबाँझ–बैतडी–झुलाघाट र सतबाँझ–गोकुलेश्वर सडकखण्डको रियाक्टिभ मर्मतको ठेक्का रणसैनी निर्माण सेवाले पाएको थियो । बित्थड–चैनपुर सडकखण्डको अर्को सतह विशेष मर्मतको ठेक्का भने नरेन्द्र निर्माण सेवाले पाएको थियो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ र ठेक्का सम्झौताको साधारण सर्त (जीसीसी) बमोजिम ती ठेक्काहरू तोडिएको हो। सम्झौता रद्द गरिएका निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्न सिफारिस गरिनेछ। यसका साथै ऐनको दफा ५९ को उपदफा ८ अनुसार कार्यसम्पादन जमानत, धरौटी रकम र बाँकी रहेको पेस्की बापतको जमानत जफत हुनेछ।

प्रतिक्रिया जनाउनुहाेस्