बैतडी, १० असोज: लगातार वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभर सार्वजनिक सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको छ।
प्रशासनले आज बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो मौसमी बुलेटिनअनुसार बैतडी ‘सतर्क’ वर्गमा रहेको तथा जिल्लाका उत्तर र दक्षिणतर्फका जिल्ला ‘अतिजोखिम’ मा रहेकाले जिल्लामा समेत निरन्तर वर्षा भइरहेकाले सवारी आवागमनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो ।
यस अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परे जिल्ला प्रशासन तथा प्रहरी कार्यालयसँग सम्पर्क गर्न आग्रह गरिएको छ। प्रशासनले सर्वसाधारणलाई मौसम तथा विपद्सम्बन्धी सूचनाप्रति सचेत रहनसमेत अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले आवश्यकताअनुसार जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल ११४४ मा सम्पर्क गर्न आग्रह गरेको छ।















