बझाङ, २३ भदौ : बझाङ जिल्ला अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक अर्थात् दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली निकाल्ने शल्यक्रिया) गरिएको हो । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै जटिलता नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
मंगलबारबाट दूरबिन प्रविधिबाट शल्यक्रिया सेवा सुरु भएसँगै बझाङमै कम चिरफारबाट गरिने आधुनिक शल्यक्रिया सेवा उपलब्ध भएको छ । यसअघि यस्ता शल्यक्रियाका लागि जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जानुपर्ने बाध्यता रहेका बिरामीलाई स्थानीयस्तरमै सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
ल्याप्रोस्कोपिक शल्यक्रियामा ठुलो चिरफार नगरी सानो प्वालमार्फत उपकरण प्रयोग गरी शल्यक्रिया गरिने भएकाले बिरामीलाई तुलनात्मक रूपमा कम दुखाइ हुने, अस्पताल बसाइ छोटो हुने तथा छिटो सामान्य अवस्थामा फर्कन सकिने अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताउनुभयो ।
जिल्ला अस्पतालमा अत्याधुनिक शल्यक्रिया सेवा सुरु हुनु बझाङको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको अस्पतालले जनाएको छ । सेवा सञ्चालनमा सहयोग गर्ने अस्पतालका प्रमुख डा. सन्दीप ओखेडालगायत चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालको सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै आगामी दिनमा थप विशेषज्ञ तथा अत्याधुनिक शल्यक्रिया सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ ।
दूरबिन प्रविधिबाट पहिलो पटक शल्यक्रिया सफल भएपछि जिल्लामै जटिल प्रकृतिका उपचार सेवा विस्तार गर्ने सम्भावना बढेको अस्पतालको भनाइ छ । यसले उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था कम गर्नुका साथै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको छ ।
बझाङ अस्पताललाई ५० शैयाको बनाउन माग
जिल्ला अस्पताल बझाङलाई दक्ष जनशक्ति र आधुनिक उपकरणसहित ५० शैयामा स्तरोन्नति गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको छ । हाल १५ शैयामा सञ्चालन भइरहेको अस्पतालमा आवश्यक दरबन्दी सिर्जना, भौतिक पूर्वाधार विस्तार तथा सिटी स्क्यान, आइसीयू, एनआइसीयू र डायलाइसिसजस्ता सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गर्न आग्रह गरिएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रबहादुर खड्काले प्रदेश सरकारका मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीलाई मागपत्र बुझाउँदै दुर्गम जिल्लाका नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार आवश्यक रहेको बताउनुभयो ।
















