बैतडीको पाटन नगरपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत नगर स्वयंसेवक शिक्षकहरू पेशागत निरन्तरता र सेवा–सुविधालगायतका माग राख्दै पुनः आन्दोलनमा उत्रिएका छन्।
नगरपालिकाले यसअघि गौरा पर्वपछि माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरेका शिक्षकहरूले माग पूरा नभएको भन्दै तीन दिनदेखि विद्यालय जान छाडेका छन्। संघर्ष समितिका अनुसार नगरपालिकाका १ सय २६ जना स्वयंसेवक शिक्षक आन्दोलनमा छन्।
नगर स्वयंसेवक शिक्षक संघर्ष समितिका संयोजक राजेन्द्र बिष्टले पटक–पटक माग राख्दा पनि ठोस निर्णय नभएपछि आन्दोलन गर्न बाध्य भएको बताउनुभयो। उहाँका अनुसार शिक्षकहरूले न्यून पारिश्रमिकमा लामो समयदेखि विद्यालयमा सेवा दिँदै आएका छन्।
घोषित कार्यक्रमअनुसार भदौ ३० र ३१ गते पेन डाउन गरिएको थियो भने असोज १ र २ गते नगरपालिकाको कार्यालयमा धर्ना दिने कार्यक्रम छ। माग सम्बोधन नभए असोज ५ गतेदेखि शिक्षा शाखामा तालाबन्दी गर्ने शिक्षकहरूले चेतावनी दिएका छन्।
यता नगर प्रमुख गौरीसिंह रावल जिल्ला बाहिर रहेकाले तत्काल प्रत्यक्ष वार्ता हुन सकेको छैन। नगरपालिकाको बजेट बाँडफाँट भइसकेकाले सबै माग तत्काल सम्बोधन गर्न कठिन भए पनि स्वयंसेवक शिक्षकहरूको १३ महिनाको पारिश्रमिक र पोसाक भत्ताका विषयमा नगरपालिका सकारात्मक रहेको स्रोतले जनाएको छ।
शिक्षकहरूले भने पेशागत निरन्तरतासहित सेवा–सुविधाका विषयमा स्पष्ट निर्णय हुनुपर्ने माग राख्दै आएका छन्।















