बैतडी: बैतडीमा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ। यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको गुनासो बढेपछि भाडा समायोजन मापदण्डका आधारमा नयाँ भाडादर कायम गरिएको हो।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायीका प्रतिनिधिसहित बसेको बैठकले जीप लगायतका छोटो दुरीका सार्वजनिक सवारी साधनहरुको नयाँ भाडादर स्वीकृत गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
प्रशासनले सबै सवारी साधनमा नयाँ भाडादरको सूची अनिवार्य रूपमा टाँस्न समेत निर्देशन दिएको छ। तोकिएकोभन्दा बढी भाडा असुलेमा प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार जिल्लाभित्रका ४० वटा रुटको भाडादर निर्धारण गरिएको छ। ती रुटबाहेकका कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैयाँ २ पैसाका दरले भाडा कायम गरिएको छ।
नयाँ भाडादरअनुसार गोठलापानी–सतबाँझ रुटको भाडा १४४ रुपैयाँ, गोठलापानी–खोड्पे ३६० रुपैयाँ, झुलाघाट–बित्थड ६६० रुपैयाँ तथा गोठलापानी–गोकुलेश्वर ४४४ रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी ढोल्यामोड–पुर्चौंडी हाट रुटको भाडा २०० रुपैयाँ तथा गोठलापानी–डडेल्धुरा रुटको भाडा ५०४ रुपैयाँ कायम गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले यात्रुलाई तोकिएकोभन्दा बढी भाडा नतिर्न आग्रह गर्दै कसैले जबरजस्ती बढी भाडा असुलेमा प्रमाणसहित उजुरी गर्न अनुरोध गरेको छ।














