बैतडी, असार ६ — बैतडी जिल्लाको पाटन नगरपालिका–९ स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय, हुक्केडाँडामा शनिबार आयोजित अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गरिएको छ। भेलाले प्रेम सिंह भाटलाई सर्वसम्मत रूपमा पुनः विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महराले जानकारी दिए।
वि.सं. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ। विद्यालयमा हाल १९८ जना विद्यार्थी अध्ययनरत रहेका छन्।
नेपाल सरकारले केही नेपाल ऐन संशोधन गरेसँगै शिक्षा ऐनमा समेत संशोधन भई विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी नयाँ व्यवस्था लागू भएपछि सोही प्रावधानअनुसार नयाँ समिति गठन गरिएको विद्यालयले जनाएको छ।
विद्यालय कर्मचारी गोपाल सिंह महराका अनुसार प्रेम सिंह भाटको अध्यक्षतामा पहिलो पटक वि.सं. २०७२ सालमा विद्यालय व्यवस्थापन समिति गठन भएको थियो। त्यसयता उनी लगातार विद्यालय व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्। यस पटकको चयनसँगै भाट छैटौँ पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छन्।
नवनिर्वाचित समितिमा पार्वती भाट, जयन्ती महरा र चन्द्र सिंह महरा सदस्य रहेका छन् भने विद्यालयका प्रधानाध्यापक प्रकाश सिंह महरा सदस्य–सचिव रहेका छन्।
यसैबीच विद्यालयको समग्र विकास तथा व्यवस्थापनमा आवश्यक सुझाव प्रदान गर्ने उद्देश्यले पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालु सिंह भाटको अध्यक्षतामा एक सल्लाहकार समिति समेत गठन गरिएको छ। समितिमा वडा नं. ८ का वडा सदस्य तथा श्री शिगास माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह महरा र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह महरा सदस्य रहेका छन्।
अभिभावक राम सिंह महराले प्रेम सिंह भाटको नेतृत्वमा विद्यालयले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रमा उल्लेखनीय प्रगति गरेको, कक्षास्तर विस्तार भएको तथा विद्यालयमा विभिन्न सकारात्मक कार्यहरू सम्पन्न भएकाले पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको बताए।
अभिभावक भेलामा वडा अध्यक्ष कालु सिंह महरा, स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउने अपेक्षासहित नयाँ समिति गठन गरिएको विद्यालयले जनाएको छ।





















