बैतडीमा बस दुर्घटनाः एकजनाको मृत्यु, १० जना घाइते

Image

बैतडी: बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षिय विरेन्द्र बहादुर चन्दको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक कुमार रायलले जानकारी दिनुभयो । दुर्घटनामा परी अन्य १० जना घाईते भएका उहाँले बताउनुभयो ।

घाइते हुनेमा दशरथचन्द नगरपालिका–४ का २७ वर्षीय लक्ष्मी ऐरी, सोही वडाका ८ वर्षीय हेम विक्रम जोशी, ६० वर्षीय पुर्णदेवी जोशी, २२ वर्षीय पुजा कार्की र उनकी अन्दाजी ३ वर्षीय दृष्टि कार्की रहेका छन् । यस्तै दशरथचन्द नगरपालिका–२ का २० वर्षीय ललिता लावड, सोही वडाका ३२ वर्षीय जानकी लावड, दशरथचन्द–६ की ३० वर्षीय लक्ष्मी साउँद, दशरथचन्द–५ का ५२ वर्षीय कर्णदेव भट्ट र पाटन नगरपालिका–९ का कविराज भट्ट घाइते भएका उहाँले बताउनुभयो ।

घाइते मध्ये कविराज भट्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

धनगढीबाट बैतडीतर्फ आउदै गरेको सुपप्र ०१ ००१ ख ३६४६ नम्बरको यात्रुवाहक बस जिल्लाको दशरथचन्द नगरपालिका–४ शाहिलेकमा शुक्रबार साँझ ५ः ४० बजे दुर्घटनामा परेको थियो ।

बस अनियन्त्रीत भएर सडकबाट करिव ३० मिटर तल खसेको प्रहरी प्रमुख रायले बताउनुभयो । बसमा १२ जना सवार रहेको र चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशवसिंह महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्