मेलौली नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

Image

बैतडी । बैतडीको मेलौली नगरपालिकाले नगर क्षेत्रभित्र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

नगरपालिकाले मङ्गलवार एक औपचारिक कार्यक्रमको आयोजना गरी गत शैक्षिक सत्रमा कक्षा ८, एसइई (SEE) र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने ९ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो ।

नगरपालिकाका अनुसार कक्षा ८ को परीक्षामा प्रथम हुने शीतलपुर माविका सचिन धनाडीलाई २० हजार, द्वितीय हुने सोही विद्यालयकी उर्मिला नेगीलाई १५ हजार र तृतीय हुने कमलपुर मावि कोटीगाउँका प्रवेश ठगुन्नालाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

त्यस्तै, एसइईतर्फ नगरभरि प्रथम हुने शीतलपुर माविका प्रशान्त सिंह विष्टलाई ३५ हजार, द्वितीय हुने सोही विद्यालयका सागर नेगीलाई ३० हजार र तृतीय हुने दुर्गा माविका पदम जोशीलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

यसैगरी, कक्षा १२ को परीक्षामा नगरभरि प्रथम हुने मणिलेक माविका सागर भट्टलाई ३५ हजार, द्वितीय हुने सोही विद्यालयका सुशान्त सिंहलाई ३० हजार र तेस्रो स्थान हासिल गर्ने दुर्गा मावि खलिगाडका योगेश भट्टलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

नगरपालिकाले घोषणा गरेको वार्षिक नीति तथा कार्यक्रम अनुरूप नै विद्यार्थीहरूलाई सम्मान गरिएको नगर प्रमुख भीमबहादुर चन्दले जानकारी दिनुभयो । विद्यार्थीहरूको अध्ययनप्रतिको रुचि र हौसला बढाउन नगरपालिकाले विगत तीन वर्षदेखि लगातार उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्दै आएको नगर प्रमुख चन्दको भनाइ छ ।

प्रतिक्रिया जनाउनुहाेस्