बैतडी: बैतडीस्थित महाकाली भन्सार कार्यालय झुलाघाटले एक करोड बढी राजस्व संकलन गरेको छ । कार्यालय गत आर्थिक वर्ष २०८२÷०८३ मा १ करोड ६ लाख १९ हजार ३१९ राजस्व संकलन गरेको हो ।
यो लक्ष्य भन्दा १६.७६ प्रतिशत बढी रहेको कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो। कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो ।
उहाँका अनुसार संकलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो।
यस भन्सार कार्यालयबाट निर्यात भने शून्य नै रहेको प्रमुख सिंहले जानकारी दिनुभयो । कार्यालयका अनुसार भन्सार महसुलबाट रु २६ लाख ६८ हजार ७८७, पैठारी सेवा दस्तुरबाट रु २ लाख १२ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु २१ लाख ४२ हजार १५५, अन्तःशुल्कबाट रु १ लाख २२ हजार ७०४ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट रु ५४ लाख ६१ हजार १७३ राजस्व संकलन भएको हो।
चालु आर्थिक वर्ष २०८३÷८४ का लागि कार्यालयले ९२ लाख राजस्व संकलनको लक्ष्य पाएको छ। यसअघि आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयले रु १ करोड ५ लाख राजस्व संकलनको लक्ष्य पाएको भए पनि रु ७७ लाख ७० हजार अर्थात लक्ष्यको करिब ७४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो।
प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै कैलाली र कञ्चनपुरबाट थोक व्यापारीले पसल तथा गोदामसम्मै सिधै सामान पु¥याउन थालेका कारण झुलाघाट नाकाबाट हुने आयात घट्दै गएको छ।













