देउलेख (बझाङ): बझाङको बित्थडचिर गाउँपालिकाले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । तरकारी, फलफूल, बीउ तथा र पशुपालन गर्दै आएका १२ जना उत्कृष्ट कृषकहरू शुक्रबार गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।
गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रतिव्यक्ति छ हजार नगद र प्रमाणपत्रसहित सम्मान गरेको कृषि विकास शाखा प्रमुख सुशील जोशीले जानकारी दिनुभयो । व्यवसायीक रूपमा कृषि पेशामा आवद्ध किसानहरूलाई थप आकर्षित र प्रोत्साहन गर्न उनीहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
“गाउँमै कृषि पेशामा आवद्ध भएर आधुनिक कृषि प्रविधिको प्रयोग,उत्पादन तथा उत्पादकत्व वृद्धि गरिरहेका उत्कृष्ट किसानहरूलाई छनोट गरि सम्मान गरेका छौ” उहाँले भन्नुभयो, “यसले कृषि पेशामा आवद्ध हुने किसानहरूको संख्या बढ्ने र कृषिजन्य उपजमा आत्मनिर्भर हुने अपेक्षा गरेका छौँ । “

सम्मानित हुनेमा बसन्तराज अवस्थी, जय बहादुर धामी, रमेश बिष्ट, राम बहादुर बोहरा, हर्क धामी, ललित बोहरा, रमेश ढाट , हर्क बहादुर बोहरा, कलावती देवि जोशी, खिटे धामी, जगदिश बोहरा योगेन्द्र धामी रहेका छन् ।
पुरस्कृत भएका किसानहरूले कृषि पेसालाई जोगाइराख्ने हो भने युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित हुने गरी गाउँपालिकाले नीति तथा योजना बनाउनुपर्ने सुझाव दिएका थिए । बित्थडचिर गाउँपालिका-८ का किसान वसन्तराज अवस्थीले उत्पादित कृषि उपजको बजारीकरणका लागि गाउँपालिकाले पहल गरिदिन आग्रह गर्नुभयो । “हामिले सक्दो मेहनत गर्छौ । उत्पादन पनि राम्रो हुन्छ तर बजारको अभावमा समस्या भोग्दै आएका छौ”, उहाँले भन्नुभयो, ” गाउँपालिकाले कृषि उपजको बजारीकरणको व्यवस्था गर्न सके युवा कृषकहरू पनि बढ्ने थिए ।”

गाउँपालिकाका अध्यक्ष अम्मर सिह महरले रैथाने कृषि बाली र अन्य कृषिजन्य उपजको बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसङ्ग समन्वय भैरहेको बताउनुभयो । वास्तविक किसान र कृषि क्षेत्र सधै गाउँपालिकाको प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष महरसहित उपाध्यक्ष धनलक्ष्मी मल्ल, प्रमुख प्रशाकीय अधिकृत शम्भु ठकुल्ला, गाउँपालिका प्रवक्ता हरिचन्द्र जोशी, वडा नम्बर ६ का वडाअध्यक्ष हरिश खड्का लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।




















