बैतडी: बैतडीमा विभिन्न विद्यालय, क्लब, आमा समूहलगायतले सामूहिक रुपमा होली खेलेर आर्थिक संकलन गरेका छन् ।
विद्यालयमा निजीस्रोतबाट भर्ना गरिएका शिक्षकको तलब र अन्य खर्च व्यवस्थापनको लागि हरेक वर्ष विद्यालयबाट गाउँगाउँमा गएर होली खेल्ने गरेको सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडाका प्रधानाध्यपक प्रकाश महराले बताए ।
‘व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी मिलेर प्रत्यक वर्ष होली खेल्छौं,’ उनले भने, ‘होलीबाट संकलन भएको रकम निजी शिक्षकको तलबमा खर्च गछौं ।’ यो वर्ष पनि होली खेलेर ६५ हजार रुपैयाँ संकलन गरिएको उनले बताए । यो विद्यालयमा विद्यलयमा पाँच जना निजीस्रोतका शिक्षक छन् ।
संस्कृति संरक्षणका साथै विद्यालयमा शिक्षकको तलबको जोहो गर्न पनि विभिन्न विद्यालयहरुले होली खेल्ने गरेको विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राजु भट्टले बताइन् । ‘पहाडका अधिकांश विद्यालयले होली खेलेर संकलन गरेको रकमले विद्यालयमा निजी शिक्षकको तलबको जोहो गर्दछन्,’ उनले भनिन्, ‘अधिकांश विद्यालय निजी स्रोतमा सञ्चालन भएकाले होलीलगायतका कार्यक्रमबाट रकम संकलन गर्ने गरिएको छ ।’
होली खेलेर १९ हजार रकम संकलन गरिएको र सो रकम समाजिक कामको लागि खर्च गरिने सिगास गाउँपालिका–९ जालहाल्लामा रहेको हिमालय आमा समूहकी अध्यक्ष दिव्यश्वरी मल्ल चन्दले बताइन् ।




















