उदयदेव मन्दिरको अष्टमी–नवमी मेलामा पाटन एकता समाजले स्वयंसेवक परिचालन गर्ने

Image

बैतडीको पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी तथा महानवमी मेलालाई व्यवस्थित बनाउन पाटन एकता समाजले स्वयंसेवक परिचालन गरेको छ ।

उदयदेव महाराजको प्राङ्गणमा लाग्ने मेलामा शान्ति, सुरक्षा र व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले स्वयंसेवक परिचालन गरेको समाजका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा भक्तजन तथा आगन्तुकलाई आवश्यक जानकारी प्रदान गर्ने, भीड व्यवस्थापन गर्ने, आवतजावत तथा लाइन व्यवस्थापनमा सहयोग गर्ने र हराएका व्यक्ति तथा सामान खोज्न सहयोग गर्ने जिम्मेवारी स्वयंसेवकलाई दिइएको छ ।

त्यस्तै, मेला अवधिमा कुनै समस्या वा अप्रिय घटना भएमा सम्बन्धित जिम्मेवार व्यक्ति वा सुरक्षा निकायलाई जानकारी गराउने व्यवस्था गरिएको छ । स्वयंसेवकले आयोजकको निर्देशनअनुसार समय र जिम्मेवारी पालना गर्नुपर्ने समाजले जनाएको छ ।

समाजले स्वयंसेवक परिचयपत्रसमेत व्यवस्था गरेको छ । उक्त परिचयपत्र सम्बन्धित मेलाको अवधिमा मात्र मान्य हुने र हराएमा आयोजकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

मेलामा आउने भक्तजनलाई सहज रूपमा दर्शन गर्ने वातावरण बनाउन तथा मेला शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न स्वयंसेवक परिचालन गरिएको अध्यक्ष चन्दले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्