बैतडी, २९ असोजः बैतडीमा जुवातास खेल्न तथा मदिरा सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दशैँ तिहारलगायतका चाडपर्वका बेला जुवातास खेल्न तथा मदिरा सेवन गर्न रोक लगाएको हो ।
चाडपर्वका समयमा हुन सक्ने अपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले जुवातास खेल्न र मदिरा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो । मनोरञ्जनका लागि चाडपर्वका बेला जुवातास खेल्ने, मदिरा सेवन गर्ने जस्ता कार्यले सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले यस्ता गतिविधिमा रोक लगाइएको उहाँले बताउनुभयो ।
“सामाजिक तथा आर्थिक जिवनमा नकरात्मक असर पर्नुका साथै पारिवारिक कलह, झै–झगडा, घरेलु हिंसा, दुर्घटना तथा अन्य अपराधिक गतिविधि बढ्न भएकाले जुवातास खेल्ने र खेलाउने तथा मदिरा सेवनमा रोक लगाइएको हो ।”, उहाँले भन्नुभयो ।
साथै यस्ता अवाञ्छित गतिविधि भएको पाइएमा नजिकको प्रहरी कार्यालय वा सम्बधित निकायमा खबर गर्न पनि प्रशासन आग्रह गरेको छ । चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन प्रशासनले सर्वसाधरणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
यसैबिच जिल्लामा प्रहरीले चाडपर्वका बेला हुन सक्ने अपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रणका लागि आवश्यक निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार बढी भिडभाँड हुने ठाउँहरुमा सुरक्षा निरानी बढाइएको छ ।
“यो बेला यात्रुको चाप बढ्ने भएकाले उनीहरुको सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएका छन्”, उहाँले भन्नुभयो, “बढी भिडभाँड हुने ठाउँहरुमा गस्ती तथा पेट्रोलिङ्को काम भैरहेको छ ।”












