बैतडी : काठमाडौंको कीर्तिपुरमा सञ्चालित दिया एजुकेशनले बैतडीस्थित बासुलिङ धार्मिक सेवा समितिलाई कार्यालय सञ्चालन तथा सामाजिक गतिविधिका लागि आवश्यक सामग्री सहयोग गरेको छ।
दिया एजुकेशनका सञ्चालक तथा कोरियन भाषा प्रशिक्षक विवेक भट्ट र भास्कर भट्टले समितिका पदाधिकारीका लागि ब्याग, टी–सर्ट, आईकार्डका साथै कार्यालय सञ्चालनका लागि आवश्यक रजिस्टर, कलम, लेजरलगायत विभिन्न सामग्री उपलब्ध गराएका हुन्। सहयोगले समितिको कार्यालय व्यवस्थापन तथा सामाजिक गतिविधि सञ्चालनमा सहजता थप्ने अपेक्षा गरिएको छ।
समितिका अध्यक्ष गणेशदत्त भट्टले दिया एजुकेशनबाट प्राप्त सहयोगले कार्यालय सञ्चालन तथा संस्थागत गतिविधिलाई व्यवस्थित बनाउन मद्दत पुग्ने बताए।
त्यस्तै, समितिका उपाध्यक्ष विनोदप्रसाद भट्टले धार्मिक तथा सामाजिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै दिया एजुकेशनको सहयोगी भावना र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे। उनले यस्ता कार्यले समाजमा सहकार्य, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
बैतडीको सुर्नया गाउँपालिका–३, तडीगाउँमा जन्मिएका विवेक भट्ट र भास्कर भट्टले काठमाडौंमा दिया एजुकेशन सेन्टर स्थापना गरी विद्यार्थीलाई भाषा प्रशिक्षण प्रदान गर्दै आएका छन्। उनीहरूले भाषा शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउनुका साथै शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा समेत सक्रियता देखाउँदै आएका छन्। विशेषगरी विवेक भट्ट कोरियन भाषा प्रशिक्षक तथा समाजसेवीका रूपमा परिचित छन्।
शिक्षा र व्यावसायिक क्षेत्रसँगै धार्मिक तथा सामाजिक सेवामा समेत सहयोग पुर्याउने यस्ता पहलले स्थानीय धार्मिक संस्था र सामुदायिक गतिविधिलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।













