बैतडीमा भन्सार छलीका तीन लाख बढीका सामान बरामद

Image

बैतडी, असोज २८ गते : बैतडीमा प्रहरीले भन्सार छली गरी ल्याइएका तीन लाख बढीका सामान बरामद गरेको छ । बुधबार दिउँसो ३ बजे जिल्लाको पञ्चेश्वर गाउँपालिका—४ तिमलेखोलिास्थित विनायक जंगलमा छरपस्ट अवस्थामा तीन लाख १७ हजार ७१९ रुपैयाँ बराबरका भन्सार छलिएको सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी चौकी हल्दुविनायक र इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा चार क्विन्टल चिनी, तीन पेटी तोरीको तेल, १२ कार्टुन पेठा मिठाई, मन्दिरका घण्टी, अचार, नरिवल, पापड, पेन्ट, चप्पललगायत २४ प्रकारका सामान रहेका छन् । बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याइँदै गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्