वित्थडचिर गाउँपालिकाको आगामी आर्थिक वर्षको नीती तथा कार्यक्रम र बजेट पारित

Image

बझाङको बित्थडचिर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड २ लाख ६१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, खेलकुद तथा भौतिक पूर्वाधार विकास लाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण गर्दै निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायीकरण गर्ने, कृषि उपजको आयात प्रतिस्थापन गर्ने, माटो परीक्षणमार्फत माटो सुहाउँदो बाली प्रवर्द्धन गर्ने तथा रैथाने बालीको बीउ संरक्षण, उत्पादन विस्तार र बजारीकरणमा विशेष पहल गरिने उल्लेख गरिएको छ।

पर्यटन क्षेत्रअन्तर्गत बित्थड पर्यटकीय क्षेत्रसहित गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको संरक्षण, व्यवस्थापन र प्रचारप्रसार गरिने तथा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय र पहल गरिने जनाइएको छ।

शिक्षा क्षेत्रमा विद्यालय शिक्षा प्रणालीलाई आधुनिक, विज्ञान तथा प्रविधिमैत्री बनाउँदै ई–लर्निङ, भर्चुअल कक्षा तथा डिजिटल शिक्षण प्रणाली सँग जोड्ने कार्यक्रम अघि सारिएको छ।

त्यसैगरी स्वास्थ्य सेवा विस्तार, खेलकुद विकास तथा आधारभूत भौतिक पूर्वाधार निर्माणलाई पनि नीति तथा कार्यक्रमले विशेष महत्व दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठकुल्ला का अनुसार गाउँसभाबाट प्रस्तुत नीति, कार्यक्रम तथा बजेट बिहीबार नै सर्वसम्मत रूपमा पारित गरिएको छ।

समृद्ध बित्थडचिर निर्माणको लक्ष्यसहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ।

बिहीबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभाको अधिवेशन मा अध्यक्ष अम्मर सिंह महर ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष धनलक्ष्मी मल्ल ले बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्