बैतडीको पाटन–१०  पूर्ण खोप सुनिश्चितता घोषणा

Image

बैतडीको पाटन नगरपालिका–१० लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

सिद्धपुर स्वास्थ्य चौकीका सूचना अधिकारी महेन्द्र बोहराका अनुसार वडाभित्रका पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसारका सबै खोप प्राप्त गरिसकेका छन्। सोही आधारमा वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उहाँले जानकारी दिनुभयो।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअनुसार बालबालिकाले जन्मेदेखि १५ महिनासम्मको अवधिमा बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, पीसीभी, रोटा, एफआईपीभी, एमआर तथा जेई लगायतका खोप पूर्ण रूपमा प्राप्त गरेको सुनिश्चित भएपछि सम्बन्धित क्षेत्रलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने व्यवस्था रहेको छ।

घोषणा कार्यक्रममा वडास्तरीय खोप समन्वय समिती सयोजक एवं वडा अध्यक्ष धन बहादुर कुवरले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

कार्यक्रममा अनमी मिना महरासहित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ ।
पूर्ण खोप सुनिश्चितता घोषणासँगै वडाभित्रका सबै बालबालिकाको खोप पहुँच सुनिश्चित भएको तथा खोपबाट बचाउन सकिने रोगहरूको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्