बैतडी: बैतडीको पाटन नगरपालिका–९ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। मङ्गलबार आयोजित एक कार्यक्रमबीच वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
आधारभूत स्वास्थ्य सेवा केन्द्र टकरेका प्रमुख प्रकाश भट्टका अनुसार वडाभित्रका पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसारका सबै खोप प्राप्त गरिसकेका छन्। सोही आधारमा वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उहाँले जानकारी दिनुभयो।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअनुसार बालबालिकाले जन्मेदेखि १५ महिनासम्मको अवधिमा बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, पीसीभी, रोटा, एफआईपीभी, एमआर तथा जेई लगायतका खोप पूर्ण रूपमा प्राप्त गरेको सुनिश्चित भएपछि सम्बन्धित क्षेत्रलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने व्यवस्था रहेको छ।
घोषणा कार्यक्रममा वडास्तरीय खोप समन्वय समिती सयोजक एवं वडा अध्यक्ष कालू सिंह भाटले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
उहाँले आगामी दिनमा पनि बालबालिकाको नियमित खोप सुनिश्चित गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा स्वास्थ्यकर्मीसहित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।
पूर्ण खोप सुनिश्चितता घोषणासँगै वडाभित्रका सबै बालबालिकाको खोप पहुँच सुनिश्चित भएको तथा खोपबाट बचाउन सकिने रोगहरूको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्





















