चार महिनाअघि दुर्घटनामा ज्यान गुमाएका परिवारले अझै राहात पाएनन्

Image

बैतडी

जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाका परिवारले अझै बिमा बापतको रकम पाउन सकेका छैनन् । २०८२ पुस २८ गते भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको थियो ।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप पुस २८ गते सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा डडेल्धुरा अस्पतालमा सिगास गाउँपालिका–१ की २७ वर्षीया बसन्ती ऐरको पनि मृत्यु भएको थियो ।

दुर्घटनामा अन्य केही यात्रु घाइते भएका थिए । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार गरिएको थियो ।

घटनाको लामो समय बितिसक्दा पनि मृतक परिवारले बिमा बापतको रकम नपाएको गुनासो गरेका छन् । मृतक बसन्ती ऐरका आफन्त जगदीश ऐरले सम्बन्धित निकाय र प्रशासनले जिम्मेवार भएर पहल गरिदिनुपर्ने माग राखेका छन् ।

“दुर्घटनामा परिवारका सदस्य गुमायौँ, तर अहिलेसम्म बिमा रकम समेत पाएका छैनौँ,” उनले भने, “पीडित परिवारलाई न्याय दिलाउन प्रशासनले चासो दिनुपर्छ ।”

पीडित परिवारले बिमा प्रक्रिया ढिलाइ हुनुको कारण स्पष्ट पार्न तथा छिटो राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्