सिगासको फोन लाइन “फोन उठेको २० सेकेन्डपछी ‘हेलो’ भनेको सुनिन्छ”

Image

गाजरी: बैतडीका ग्रामीण क्षेत्रमा फोनलाइन प्रभावित बनेको छ । जसका कारण सञ्चार सेवाबाट स्थानीय प्रभावित बनेका छन् भने विद्यालय तथा सरकारी कार्यालयबाट प्रवाह हुने सेवा समेत सुस्त बनेको छ ।

जिल्लाको सिगास गाउँपालिकामा सहज फोनलाइन सेवा सञ्चालन हुन सकेको छैन । नेपाल टेलिकमको लाइन प्रभावित हुँदा यहाँका स्थानीयले सञ्चार सेवाको सहज प्रयोग गर्न पाएका छैनन् । नेपाल टेलिकमको टावर स्थापना गरिएको भएपनि स्तरीय फोन तथा इन्टरनेट सेवाको प्रयोग गर्न नपाएको स्थानीय सूर्य बहादुर बोहराले बताउनुभयो ।

“सिगास–१ मा रहेको टेलिकमको टावरमा विद्युत पनि जडान भइसकेको छ, तर लाइन निकै सुस्त छ । हामीले सम्बन्धित निकायलाई पटक–पटक आग्रह गर्यौं तर कुनै सुनुवाइ भएन । फोन लागेको २० सेकेन्डपछि ‘हेलो’ भनेको सुनिन्छ,” बोहराले भन्नुभयो ।

पछिल्ला दिनमा टेलिकमको फोन तथा इन्टरनेट सेवा सुस्त हुँदा सञ्चार सेवाबाट प्रभावित बन्न पुगेको अर्का स्थानीय नमराज धामीले बताउनुभयो । “प्रविधिको जमानामा छौं, तर यहाँ फोन तथा इन्टरनेट लाइनको उपभोग गर्न निकै गाह्रो छ,” उनले भन्नुभयो ।

सिगास गाउँपालिका वडा नं. १ मा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । टावरसँगै जोडिएको गाउँमा रहेका विद्यालयमा फोन तथा इन्टरनेट सेवा सहज नभएपछि विद्यालयका कामकाज समेत प्रभावित भएको गुनासो गरिएको छ ।

टावर नजिकै रहेको नरेन्द्रपुर माविका प्रधानाध्यापक केशवसिंह धामीले इन्टरनेट अभावमा अनलाइन प्रणालीमा आधारित विद्यालयका सबै काम प्रभावित भएको बताउनुभयो ।

राज्यबाट प्रदान हुने सेवा समेत अनलाइन प्रणालीमा आधारित छन् । तर इन्टरनेट अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको बताइएको छ । इन्टरनेटको सहज पहुँच नहुँदा व्यक्तिगत घटना दर्ता, सिफारिस लगायतका वडाबाट प्रदान गरिने सेवा समेत प्रभावित भइरहेको सिगास गाउँपालिका वडा नं. २ का सचिव उमेश कलौनीले बताएका छन् ।

“वडा कार्यालयमा कसैले फोन गर्दा समेत सम्पर्क हुँदैन । नेट नचल्दा काम गर्न पनि समस्या हुन्छ,” वडा सचिव कलौनीले भन्नुभयो ।
सञ्चार सेवाको सहज पहुँचका लागि समन्वय भइरहेको र जिल्लामा केही टावरहरुको संख्या थप गर्ने योजना रहेको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख नारायणदत्त भट्टले बताउनुभयो ।

स्थानीय तह रहेका बैतडीमा नेपाल टेलिकमका ४० भन्दा बढी टावर रहेका छन् । तर ती टावरबाट प्रवाह हुने सेवा भने सुस्त रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्