बैतडी,
निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, मूल्य समायोजनको व्यवस्था नगरेको तथा निर्माण व्यवसायीमाथि भइरहेको धरपकडको विरोधमा बैतडी निर्माण व्यवसायी संघले बिहीबार धर्ना कार्यक्रम गरेको निर्माण व्यावसायि महासंघ बैतडीका महासचिव बिकास चन्दले जानकारी दिनुभयो ।
निर्माण व्यवसायी महासंघको देशव्यापी आन्दोलनअन्तर्गत संघले जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको हो । धर्नापछि संघले प्रमुख जिल्ला अधिकारी डा. डीजन भट्टराईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।ज्ञापनपत्रमा निर्माण उद्योगले देशको आर्थिक गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी प्रदान गरेको उल्लेख गरिएको छ । साथै कुल गार्हस्थ उत्पादनमा करिब १३ प्रतिशत योगदान पुर्याउने निर्माण क्षेत्र हाल निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिका कारण संकटमा परेको दाबी गरिएको छ ।

संघका अनुसार रुस–युक्रेन युद्धपछि डिजेल, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको छ । डिजेलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँबाट बढेर २ सय २५ रुपैयाँ पुगेको तथा बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट १ सय ५५ रुपैयाँ पुगेको ज्ञापनपत्रमा उल्लेख छ । मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले करिब १० अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको दाबी गरिएको छ ।
निर्माण व्यवसायीहरूले सबै प्रकारका ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न, व्यवसायीमाथिको धरपकड रोक्न तथा निर्माण क्षेत्रलाई संरक्षण गर्ने नीति ल्याउन सरकारसँग माग गरेका छन् । माग सम्बोधन नभए निर्माण कार्य स्वतः बन्द हुने चेतावनी समेत ज्ञापनपत्रमार्फत दिइएको छ ।




















