बैतडीका स्थानीय तहहरुमा २३ करोड बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार २३ करोड ४३ लाख ७० हजार बेरुजु रकम देखिएको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनका अनुसार १० ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी डिलाशैनी र सबै भन्दा कम दोगडाकेदार गाउँपालिकामा बेरुजु रकम देखिएको छ ।
डिलाशैनी गाउँपालिकामा ५ करोड ६८ लाख १५ हजार बेरुजु भने दोगडाकेदार गाउँपालिकामा १ करोड १२ लाख ५७ हजार बेरुजु रकम रहेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दशरथचन्द नगरपालिकामा २ करोड २४ लाख ७१ हजार, पाटन नगरपालिकामा २ करोड ७७ लाख ९६ हजार, पुर्चाैडी नगरपालिकामा २ करोड १ लाख ९९ हजार, मेलौली नगरपालिकामा ४ करोड ३२ लाख ४१ हजार रकम बेरुजु देखिएको छ ।
यसैगरि पञ्चेश्वर गाउँपालिकामा १ करोड १८ लाख ४८ हजार, शिवनाथमा १ करोड ६ लाख ९३ हजार, सिगासमा १ करोड ४३ लाख ६ हजार र सुर्नया गाउँपालिकामा १ करोड ५७ लाख ४४ हजार रकम महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
ऐन नियम अनुसार बजेट खर्च नहुनु, दबाबमा बजेट खर्च हुनु र आर्थिक अनुशासन कायम गर्न नसक्दा स्थानीयतहमा बेरुजु रकम देखीने गर्दछ । यहाँका स्थानीय तहरुले प्रत्येक वर्ष बेरुजु रकम घटाउदै गैरहेका छन् । महालेखाको ६१ औँ प्रतिवेदनमा उल्लेख गरिएको बेरुजु रकमको तुलनामा ६२ औँ प्रतिवेदनमा सुधार देखिएको हो ।





















