बैतडी
बैतडीको मेलौलीमा वडास्तरीय खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा यही कार्तिक १३ गतेदेखी खुल्ला महिलापुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
जिल्ला खेलकुद समितिले आज आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले महिलापुरुष दुबैतर्फ १ लाख ११ हजार १११ नगदसहित ट्रफी मेडिकल प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान हासिल गर्ने टिमले ७७ हजार ७७७, तेस्रो स्थान हासिल गर्ने टिमले ४४ हजार ४४४ ट्रफी मेडिकल प्रमाणपत्र प्राप्त गर्ने आयोजक खेलकुद समिती बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिता संचालन गर्न भूतपूर्व खेलाडी तथा खेलकुदप्रती आस्थावान सबैले सहयोगको प्रतिबद्धता जनाएको अध्यक्ष चन्दले जानकारी दिए ।
खेलकुद प्रतियोगितामा विधागत उत्कृष्ट प्रदर्शन गर्ने सबै विधाका खेलाडीलाई नगदसहित पुरस्कारको व्यवस्था रहेको समेत आयोजकले जनाएको छ ।
एक वडाबाट एक टोलीले मात्रै सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको खेलकुद समिती प्रमुख तर्कराज जोशीले बताउनुभयो ।
प्रतियोगितालाई विवादरहित ढंगले सम्पन्न गर्न तयार रहेको बैतडीका भलिबल प्रशिक्षक हरि भण्डारीले बताउनुभयो ।
बैतडीको मेलौलीमा कार्तिक १३ देखि भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार १,११,१११

प्रतिक्रिया जनाउनुहाेस्













