बैतडीमा खोरेत रोगविरुद्ध खोप अभियान सञ्चालन हुने

Image

बैतडी:बैतडीमा ३० हजार पशुलाई खोरेत रोगविरुद्ध खोप लगाइने खोप दिइने भएको छ । गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको अभियान अन्तर्गत यहाँको ३० हजार बढी पशुहरुमा खोप लगाइने भएको हो ।

जिल्लाका दशओटै स्थानीय तहमा मंसिर ५ गतेदेखी खोरेत रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र पाटन, बैतडीका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए ।

यसका लागि २५ जना भाक्सीनेटर खटाइएको छ । खोपको उपलब्धता र पशुपालक किसानहरुले खोप लगाउने चाहेको खण्डमा त्यो संख्या बढ्न सक्ने उनले बताए ।

“भ्याक्सीनेटरहरुलाई अभिमुखकरण दिएर खोप अभियान कार्यक्रमका लागि पठाइसकेका छौ ”उनले भने , “यसका लागि स्थानीय तहको पशु शाखा अन्तर्गत कार्यरत प्राविधिकहरुले आवश्यक सहयोग गर्छन् । ”

खोरेत रोगविरुद्ध बैतडीसहित सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका सबै पालिकामा खोप अभियान सञ्चालन हुँदैछ । गाईभैँसी र बाख्रामा लाग्ने खोरेत रोगको संक्रमणका कारणले किसानहरुले ठुलो क्षति व्यहोर्दै आएका थिए ।
अभियानकाका लागि खटिएका भ्याक्सीनेटरले किसानहरुको गोठमै पुगेर खोप लगाउने केन्द्रका प्रमुख पन्तले बताए । पन्तका अनुसार खोप अभियान फागुन महिना सम्म सञ्चालन हुनेछ ।

खोरेत रोग लागेका पशुहरुलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट र्‍याल काढ्नु लगायतका लक्षण देखापर्ने गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्