बैतडी, असार २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको जिल्ला अधिवेशन शनिबार पाटनमा हुने भएको छ । वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसकेको रास्वपा बैतडीले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
अधिवेशनमा सहभागी हुन वडा र पालिकास्तरबाट छनोट भएका प्रतिनिधिहरू तथा पार्टीप्रति आस्था राख्ने कार्यकर्ताहरू पाटन पुग्ने क्रम जारी रहेको छ । अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको पार्टीले जनाएको छ ।
कार्यक्रममा बैतडीबाट निर्वाचित हरिमोहन भण्डारी सहित केन्द्र तथा प्रदेशस्तरीय नेताहरूको सहभागिता रहने बताइएको छ । केन्द्रीय तथा प्रदेशको टोली आजै बैतडी पुग्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा पालिका समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका विभागका प्रमुखहरू, प्रत्येक पालिकाबाट सिफारिस गरिएका एक महिलासहित तीन जना प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू तथा जिल्ला, प्रदेश र केन्द्रीय विभागका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको संगठन विस्तार, भावी कार्ययोजना तथा राजनीतिक गतिविधिबारे समेत छलफल हुने जनाइएको छ ।




















