जेठ २२ गते, बैतडी: बैतडीको मेलाैली नगरपालिकाले विश्व वातावरण दिवस विभिन्न फलफूल तथा बिरुवा रोपेर मनाएको छ।
“समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित नगरपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (एलएसीसी) को संयुक्त आयोजनामा नगरपालिकाको परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको हो।
परियोजना कार्यान्वयन इकाइका अधिकृत पूर्णबहादुर चन्दका अनुसार दिवसको अवसरमा धुपीसल्लो, किम्भु, गोदावरी, केसर, गोरखपान, डबल्डेलिया, इन्द्रकमल, गुलाब, बल्बपुष्प र सयपत्रीलगायतका विभिन्न बिरुवा तथा फूल रोपिएका छन्।
वृक्षारोपण कार्यक्रममा परियोजनाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।
नगरपालिकाले रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाह गरिने जनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र स्वच्छ नगर निर्माणमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो।
विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ तारिखमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वभर मनाइँदै आएको छ।




















