बैतडीः बैतडीमा आर्थिक गणना कार्यालयको स्थापना गरिएकोे छ । दोस्रो आर्थिक गणनाका लागि गोठालापानी बजार नजिकै कार्यालय स्थापना गरिएको हो ।
बुधबार कार्यालय स्थापना गरि काम अघि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिनुभयो । कार्यालय स्थापना भैसकेको र यो महिनाभित्र आन्तरिक तयारी पूरा गरिसक्ने उहाँले बतानुभयो ।
कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने आर्थिक गणना अधिकारी गिरीले जानकारी दिनुभयो ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ बैशाख २ गतेदेखी दोस्रो आर्थिक गणना सुरु हुँदैछ । यसका लागि बैतडीमा १६ गणक र ३ सुपरिवेक्षक खटिने उहाँले बताउनुभयो ।
गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था संकलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गरिने बताइएको छ ।





















