बैतडीः बैतडीको पाटन नगरपालिका–८ लाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको छ । शनिवार वडालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो ।
पाँच वर्षमुनिका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार निर्धारित सबै खोप लगाइसकेका छन् । सोहीअनुसार वडालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणागरिएको सिद्धेश्वर स्वास्थ्य चौकीका इन्चार्ज जयराज भट्टले जानकारी दिनुभयो ।
वडाभित्रका १५ महिनामुनिका ४१ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखी ५९ महिनासम्मका २०६ जना बालबालिकाले खोप तालिका अनुसार सबै खोप लगाइ सकेका उहाँले बताउनुभयो ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअनुसार बालबालिकाले जन्मेदेखि १५ महिनासम्मको अवधिमा बीसीजी, पोलियो, पेन्टाभ्यालेन्ट, पीसीभी, रोटा, एफआईपीभी, एमआर तथा जेई लगायतका खोप पूर्ण रूपमा प्राप्त गरेको सुनिश्चित भएपछि सम्बन्धित क्षेत्रलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने व्यवस्था रहेको छ।
यस्तै कार्यक्रममा ७ जना स्वास्थ्य स्वयसेविका र ५ जना खोप कार्यकता तथा एक जना खोप ढुवानी गर्ने स्वास्थ्य कर्मीलाई समेत सम्मान गरिएको थियो ।
वडा खोप समन्वय समितिका अध्यक्ष एवंम पाटन नगरपालिका– ८ का वडाअध्यक्ष हरिश बिष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य, कार्यपालिका सदस्यलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।





















