बझाङको दुर्गम हिमाली क्षेत्र साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री बुझेर केही शनिबार र केही आइतबार र बाँकी रहेका सोमबार सदरमुकाम चैनपुरबाट हिँडेका हुन् । दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए।
साइपाल–१, धलौन माध्यमिक विद्यालय धलौन वरिपरि मतदान केन्द्र र साइपाल–२ धलौन माध्यमिक विद्यालय धलौन मतदान केन्द्रका कर्मचारी भने आइतबार कार्यक्षेत्रतिर प्रस्थान गरेका थिए ।
बझाङमा निर्वाचनका लागि दुई अस्थायी र १८९ स्थायी मतदान केन्द्र तोकिएका छन् भने १३७ मतदान स्थल निर्धारण गरिएको छ । तीमध्ये तीन सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा राखिएका छन् ।























