बैतडीमा मदिराजन्य बस्तु बिक्रीबितरण ओसारपसारमा कडाइ

Image

बैतडी: फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्रीबितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्रीबितरणमा कडाइ गरिएको हो ।

शनिवारदेखी नै लागू हुने गरि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ बजेपछि मदिरा बिक्रीबितरण गर्न नपाइने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारुले जानकारी दिनुभयो । मदिराजन्य पदार्थ बिक्रीबितरण तथा ओसारपसार नियमनका लागि बिक्रीबितरण र उपभोगलाई व्यवस्थीत गर्न आज व्यवसायीहरुसंग छलफल गरेर कडाई गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

मौन अवधीमा मदिराजन्य बस्तुको बिक्रीबितरण पूर्ण रुपमा निषेध गर्ने, फागुन ११ गतेदेखी २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार नगर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत थारुले जानकारी दिनुभयो ।

“व्यवसायीहरुसंगको छलफलपछि मदिराजन्य पदार्थ बिक्रीबितरण तथा ओसारपसार नियमन गर्ने निर्णय गरेका छौ।”, उहाँले भन्नुभयो, “यदी उक्त निर्णयको उल्लघंन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुन्छ ।”

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा ११ जना चुनावी मैदानमा छन् ।

प्रतिक्रिया जनाउनुहाेस्