यू-१६ खेलाडी रावललाई सुदूरपश्चिम रोयल्सबाट एक लाख सहयोग

Image

मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य सुशील रावललाई फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट टिममा आएका रावलले यू-१६ राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । उनले प्रतियोगितामा ३ खेल खेल्दा ४ विकेट लिएका थिए ।

अब यू–१९ टोलीको छनोटका लागि भारतमा हुने प्रशिक्षणमा सहभागी हुनुपर्ने र करिब १ लाख रुपैयाँ खर्च लाग्ने भएपछि उनले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपिल गरेका थिए।

त्यसैलाई सम्बोधन गर्दै सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले शुक्रबार एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। ‘सपना देख्न नछाड सुशील। तिमीमा रहेको अनुशासन, प्रतिबद्धता र मेहेनतमा हामीलाई विश्वास छ’ रोयल्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘यो त सुरूवात मात्र हो। तिमीले अझ धेरै अगाडि बढ्नेछौ। सुदूरपश्चिम रोयल्स् परिवार सधैं तिमी साथमा छ।’

रावल बझाङबाट छनोट भई राष्ट्रिय टोलीमा पुगेका हुन् र हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा बसोबास गर्छन्।

विजयी टोलीका सबै खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही ५० हजार पुरस्कार दिने घोषणा गरिसकेको छ भने व्यक्तिगत रूपमा अन्य कतिपयले पनि सहयोग गर्न थालेका छन्।

प्रतिक्रिया जनाउनुहाेस्