बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसि तालिम सुरु

Image

बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसि) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमूना मावि र मेलौली नगरपालिका–७ को मणिलेक माविमा विद्यार्थीहरुका लागि एनसिसि तालिम सुरु गरेको हो ।
सोमबारदेखी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्रीबक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिए । दुवै विद्यालयबाट ३०÷३० जना विद्यार्थीहरु एनसिसी तालिममा छनोट गरिएको उनले बताए ।
“एउटा विद्यालयबाट १५ छात्र र १५ छात्रा गरी ३०÷३० विद्यार्थीहरुलाई छनोट गरिएको छ” उनले भने “राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिनेछ ।”
यसका साथै सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ । एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुनेछ ।
उहाँका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ ।
यो तालिमले विद्यार्थीहरुको राष्ट्रप्रेम, नेतृत्व विकाससंगै उनीहरुको चौतर्फी विकासमा महत्वपूर्ण भुमिका खेल्ने ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयमा प्रधानाध्यपक पुष्पराज जोशीले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्