पाटनले कृषिजन्य उपजको करमा पुनरबिचार गर्ने, किसानहरुका सुझाव संकलन

Image

बैतडी,
बैतडी, बैतडीको पाटन नगरपालिकाले कृषिजन्य वस्तुमा लगाएको करको विषयमा पुनरबिचार गर्ने विषयमा किसानहरुका सुझाव संकलन गरेको छ । सनिबार पाटन नगरपालिका वडा नं ८को वडा कार्यालयमा यहाँका किसानहरुसँग छलफल गर्दै सुझाव संकलन गरेको हो ।

छलफल कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहरा, पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष हरिस बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट र वडा नं ८,९ र १० का किसानलगायत व्यावसायीहरुको सहभागिता रहेको थियो ।

छलफलमा सहभागि किसान तथा व्यावसायीहरुले करको दायरा हटाउनुपर्ने माग राखेका थिए । तरकारी तथा फलफूलमा लगाएको निकासी करको मार किसानहरुलाई नै परिरहेको बताउदै आगामी आर्थिक वर्षदेखि करको दायरा जुनसुकै हालतमा पनि हटाइनुपर्ने माग थियो ।

छलफलमा बोल्दै स्थानीय किसान एवं व्यावसायी अर्जुन बिष्टले निकासी करको मार किसानहरुलाई नै परिरहेको बताए । “व्यापारीले करको नाममा किसानबाट सस्तो मुल्यमा खरिद गर्छ, त्यसको मार किसानलाई पर्छ, किसानहरुबाट उठाएको करबाट किसानहरुले के फाइदा पाउछन् ?” उनले प्रस्न गरे । नगरपालिकाले किसानहरु र उत्पदान भइरहेको उपजको सबै तथ्याङ्क राख्नुपर्ने समेत बताए ।

यसैगरी अर्का सहभागि कृष्ण सिंह भाटले किसानहरुलाई मार पर्ने करको विषयमा पुनरबिचार गर्न नसके नगरपालिकामा तालाबन्दी गरिने चेतावनी दिए । नगरपालिकाले वास्तविक किसानहरुको पहिचान गर्न नसकेको किसानहरुलाई लाभ पुग्ने खालका कार्यक्रा ल्याउन नसकेको उनको भनाइ थियो । वास्तविक किसानहरु पिडामा रहेको उनको भनाइ छ ।

वास्तविक किसानहरुको पहिचान गनुपर्ने अर्का सहभागि मोहन सिंह बिष्टको पनि भनाइ रहेको थियो । किसानहरुलाई पर्ने हानीनोक्सानीको विषयमा पनि नगरपालिकाले चासो राख्नुपर्नेमा जोड दिए । “यहाँ असिनाका कारण थुप्रै क्षति भएका उदाहरण छन्, हावाहुरीले त्यस्तै क्षति गर्छ, कहिले वर्षाले साथ दिदैन, यसले किसानहरु मारमा छन्, किसानहरुको परोपकार हुने खालका कार्यक्रम ल्याउनुपर्यो ।” बिष्टले भने ।

वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाटले कर निर्धारण गर्नेक्रम देखि नै यसको विरोधमा रहेको र अझै पनि कर तोक्न नहुने पक्षमा आफु दृढ रहेको धारणा राखे । किसानहरुलाई करले मार परेको बताउदै उनले किसानहरुका लागि कर नभई पुरस्कार प्रदान गर्नेखालका कार्यक्रम ल्याउनुपर्नेमा आफु रहेको उनको भनाइ थियो । तरकारी तथा फलफूलजन्य वस्तुमा कर हटाउनुपर्नेमा उनको जोड थियो ।

वडान ं ८ का वडा अध्यक्ष हरिस बिष्टले यस छलफलमा उठेको सुझावलाई प्रक्रियागत तवरले छलफलगरी कार्यपालिकाबाट संसोधन गर्ने बताए । यहाँका किसानहरुको हितलाई मध्यनजर गर्दै कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिएको जानकारी गराए । किसान लक्षित कार्यक्रमको लागि वडा पालिकाको तर्फबाट पहल निरन्तर भइरहेको बताए । यस वडामा गठन गरिएका टोल विकास समिति, महिला सञ्चाल, कृषक समुह र सहकारी मार्फत सबैलाई लाभ पुग्ने तवरले कार्यक्रम बिनियोजन गरिएको उनले बताए । सिमित व्याक्तिलाई लाभ पुग्ने र पहुँचको भरमा अनुदान ल्याउने प्रवृतिले कृषि क्षेत्रको विकास सम्भव नभएको उनले बताए ।

उपप्रमुख कमल सिंह बोहराले आजको छलफलबाट उठेका सुझावलाई राजस्व परामर्स समितिमा लैजाने र त्यसपछि कार्यपालिकामा लगेर करको दायरा हेरफेर गरिने प्रतिवद्धता जनाए । किसानहरुका जायज मागलाई पालिकाले सम्बोधन गर्ने उपप्रमुख बोहराको भनाइ थियो । नगरपालिकालाई प्राप्त अधिकारको प्रत्यायोजन गरेर कर निर्धारण गरिएको उनको दावी नियो ।
चालु आर्थिक वर्षको सुरुवातमा नगरपालिकाले तरकारी तथा फलूलजन्य वस्तुलाई पनि समेटेर निकासी कर लगाएको थियो । जसका कारण किसानहरुलाई मार्का परेको छ । व्यापारीहरुले पालिकाले कर लगाएको भन्दै किसानहरुबाट कम मुल्यमा खरिद गर्ने गरेको गुनासो बढेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्