बैतडीका उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । मंगलबार जिल्लाको खोड्पेमा आयोजना गरिएको वार्षिक समिक्षा तथा अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।
जिल्लाका १० ओटा स्वास्थ्य संस्था र ६ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए। प्रत्येक स्थानीय तहबाट आर्थिक वर्ष २०८१÷०८२ मा न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा उत्कृष्ट नतिजा ल्याएका एक÷एक स्वास्थ्य संस्थालाई सम्मान गरिएको उनले बताए ।
सुसासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र स्वास्थ्य सहयोग सेवाहरूका आधारमा स्वास्थ्य सस्थाहरूलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । स्वास्थ्य चौकी व्यवस्थापन समिति र स्थानीय तहहरुले गरेको मुल्याङ्कनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरिएको उनले जानकारी दिए ।
सिगास गाउँपालिकाको गाजरी स्वास्थ्य चौकी, पन्चेस्वरको पन्चेस्वर स्वास्थ्य चौकी, दोगडाकेदारको श्रीकोट स्वास्थ्य चौकी, डिलासैनीको प्रस्तावित डिलासैनी आधारभुत अस्पताल, सुर्नयाको भौनेली स्वास्थ्य चौकी र शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई सम्मान गरिएको छ ।
यस्तै पाटनको सिद्धेश्वर स्वास्थ्य चौकी, मेलौलीको प्राथमिक स्वास्थ्य केन्द्र केशरपुर, पुर्चाैडीको हाट स्वास्थ्य चौकी र दशरथचन्द नगरपालिको गुरुखोला स्वास्थ्य चौकीलाई सम्मान गरिएको हो ।
यस्तै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने ६ जना स्वास्थ्य कर्मिलाई पनि सम्मान गरिएको छ । डिलाशैनीको रुदे्रश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी पुष्पाकुमारी बुढा, दोगडाकेदारको श्रीकोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी सरस्वती भट्ट,दशरथचन्द नगरपालिकाको थालिगडा स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी राजेश्वरी ऐरी, पुर्चौंडी नगरपालिकाको महादेवस्थान स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव गम्भीर धामी पाटन नगरपालिकाको कैलपाल स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव अधिकृत नरेशबहादुर चन्द र पाटन नगरपालिकाको सिद्धेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी निरीक्षक लक्ष्मी भट्ट उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका छन् ।
स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यक्षेत्रमा थप उर्जा मिल्ने बताइएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका सामाजिक विकास समिति सयोजक एवं वडा न ८ का वडा अध्यक्ष हरिश बिष्टले खोड्पेमा रहेको ट्रमा सेन्टर संचालनको लागि प्रदेश सरकार र संघीय सरकारसङ्ग थप पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी रहनुभएका प्रमुख जिल्ला अधिकारी समक्ष सो आग्रह गरेका हुन् । यसैगरी बिपदका क्रममा राहात तथा उद्दारको लागि आवश्यक पर्ने मानवीय सहायता स्थल सीघ्र संचालनमा ल्याउनको लागि पनि थप पहल गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा बैतडीमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, १० ओटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।





















