बैतडी : उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई समयमै योजना सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार बैतडीको पाटनमा जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राज्यबाट बिनियोजन भएका योजना कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै योजना कार्यान्वयनमा जोड दिन निर्देशन दिएका हुन् ।
उनले जिल्लाका कार्यालयले सुशासन कायम गर्नुपर्नेमा जोड दिए । विकासे कार्यालयमा दायित्व सार्ने प्रवृत्तिले अपेक्षा अनुसार काम हुन नसकेको समेत औँल्याए । धेरैजसो विकासे कार्यालयमा विगतको दायित्व परिपुर्ति गर्ने कामले समस्या निम्त्याएको उनले बताए ।
पुरानो भुक्तानी दिने विषयमा गुणस्तर र मापदण्ड अपनाएर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ। यहाँका विकासे कार्यालयमा पुरानो भुक्तानी दिनुपर्नेहरूको सूची तयार पार्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
मन्त्री भण्डारीले मनसूनजन्य विपदका घटना नियन्त्रणको लागि पूर्व तयारी गर्न निर्देशन दिए । विगतका वर्षभन्दा यस वर्ष बढी वर्षा हुने प्रक्षेपण गरिएकाले विपदका घटना पनि बढ्न सक्ने हुँदा सम्भावित जोखिम नियन्त्रणको लागि तयारीमा बस्न मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद जोखिम नियन्त्रणको लागि आवश्यक पूर्व तयारी भइरहेको जानकारी गराए ।














