धनगढी: अछाममा आइतबार साँझ करिब ५ बजे आएको भीषण हावाहुरीले जिल्लाभरका विभिन्न ठाउँहरूमा क्षति पुर्याएको छ। पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
पञ्चदेवल विनायक–३ का सिरे कामीको जस्तापाताले छाइएको दुई तले घरको छाना उडाएको छ भने, नादीमा बस्ने तप्तराज तिमिल्सेनाको घरमा भने मेलको रुख भाँचिएर घरमाथि खसेपछि घर पूर्ण रूपमा भत्किएको छ।
रामारोशन गाउँपालिका–५, नेटाकोटस्थित यशोदा माविको दुई तले एक कोठे भवनको टिनको छाना उडाएको छ। त्यस्तै, सोही ठाउँका शक्ति बहादुर साउदको गाडी राख्ने ग्यारेजको छानासमेत हावाहुरीले उडाएको छ।
यसैगरी, पञ्चदेवल विनायक–५ का टंकबहादुर साही, वडा नं। ४ का मीन बहादुर बिक, र वडा नं। ३ का दान बहादुर कठायत, भरत अधिकारी, र रण बहादुर रावलका घरहरूमा पनि छाना र संरचनात्मक क्षति पुगेको छ। कमल साउँदको जस्तापाताको घर त पूरै उडाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति नभएको पुष्टि भएको छ। यद्यपि, प्रभावित परिवारहरूले दैनिक बसोबासमा कठिनाइ भोग्नुपरेको जनाएका छन्।
स्थानीय तह र सम्बन्धित निकायले घटनाको विस्तृत विवरण सङ्कलन गर्दै प्रारम्भिक क्षति मूल्याङ्कन सुरु गरिसकेको छ। राहत तथा पुनर्निर्माणका लागि आवश्यक कदम चालिने जनाइएको छ।





















