हावाहुरी र असिनासहितको बर्षाले बैतडीका विभिन्न स्थानमा क्षति

Image

बैतडी: हावाहुरीसंगै आएको असिनापानीले बैतडीका विभिन्न स्थानमा क्षति पुर्याएको छ । विद्यालय भवन, निजी घरहरु तथा सामुदायिक भवनमा सोमबार बेलुकी आएको असिनासंगैको हावाहुरीले  क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उक्त हावाहुरीले जिल्लाको सिगास गाउँपालिकामा सबै भन्दा बढी क्षति पुर्याएको हो । वडा नम्बर २ मैतडका बिष्णु बोहराको दुईतले घरको जास्तापाताले छाएको छानो उडाउँदा १४ वर्षीय छोरा टेकेन्द्र घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।

सिगास गाउँपालिका–५ मा मात्रै जस्तापास्ताले छाएको ६ ओटा घरमा क्षति पुर्याएको वडाअध्यक्ष राजेन्द्र बहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार धनबहादुर धामी, मानबहादरु धामी, केदारदत्त अवस्थी, शिवराज अवस्थी, किसन थापा र खेम धामीको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको हो ।

यस्तै वडा नम्बर ५ कै शारदा माविको पाँच कोठे जास्तापाताले छाएको छात्रावास र महादेव आधारभुत विद्यालयको पाँच कोठे भवनको छाना उडाएको उनले बताए । वडाले विवरण सकलन गरिरहेको समेत उनले बताए । सिगासकै वडा नम्बर ४ मा २ तथा ३ मा १ घरको छाना उडाएको र अन्य वडाहरुबाट पनि क्षतिको विवरण संकलनको काम भैहरेको गाउँपालिकाले जनाएको छ ।

पाटन नगरपालिका–८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको वडाअध्यक्ष हरिस बिष्टले जानकारी दिए । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मरेको उनले बताए ।

यसैगरी हावाहुरीसहितको असिना पानीले पाटन–८ कै बिन्द्राबन क्षेत्रका टोलहरुमा तरकारीबाली, फलफूल बँगैचा सखाप परेको छ । सोमबार बेलुकाको असिनापानीले आलुसहितका तरकारी बाली र फलफूलका सबै बोटहरुमा नोक्सानी पुगेको स्थानीय किसान सुने बिष्टले बताए । आरुबखगडा, खुर्पानी, कुलम, ओखर, किबी, आल्चाका बोटहरु सखाप परेको उनले बताए ।

लामो समयदेखी फलफूल खेती गर्दै आएका बिष्टले करिब ५ सयबढी फलफुलका बोटहरुमा नोक्सानी पुगेको बताएका छन् । यहाँका अधिकांस टोलहरुमा क्षति पुगेकाले लगत्तै तथ्याङ्क संकलन गरिने बिष्टले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्