बैतडी: बैतडीको पाटन नगरपालिका वडा नं ८ राङ्गाजुजौँनाका ४५ वर्षीय सवारी चालक गणेश महराको शवको पोष्टमार्टम गर्न धनगढी लैजान भनिएको छ । जिल्ला अस्पताल बैतडीले यहाँ पोष्टमाटम गर्न नसकिने भन्दै धनगढी लैजान भनेको हो ।
मंगलबार महराको मृत्यु भएका महराको पोष्टमाटमको लागि सोही दिन जिल्ला अस्पताल बैतडी लगिएको थियो । त्यहा पोष्टमाटम गर्न नसकिने भन्दै अस्पतालले धनगढी लैजान भनेको छ ।
मृतक महराका आफन्तका अनुसार आर्थिक अभावले पोष्टमाटमको लागि शव धनगढी लैजान समेत समस्या भएको छ । उपचारमै ९ लाख हाराहारी खर्च भएको र पोष्टमाटम प्रक्रियाको लागि आर्थिक अभाव भएको मृतक महराका भाई नाता पर्ने लोकेन्द्र सिंह मडैले बताए ।
“करिब आधा महिना कैलालीका अस्पतालमा उपचार गर्यौँ, रिनदान गरेर उपचार गरेका हौँ, मृत्यु भइसकेपछि पनि जिल्ला अस्पताल ल्याउन र अन्य प्रक्रियामा बढी रकम लाग्ने भएको छ, अहिले समस्यामा छौँ,” मडैले भने ।
शव बहानमा लाग्ने भाडा र अन्य प्रक्रिया लगायतको लागि आर्थिक अभाव भएको उनले बताएका छन् । अस्पतालका अनुसार विशिष्ट खालको पोष्टमाटम गर्नुपर्ने भएकाले धनगढी लैजानुपर्ने भएको छ ।
महराको मृत्यु प्रकरणको लागि छानबिनको माग गर्दै किटानी जाहेरी परिसकेको छ । मृतकक महराका छोरा कृष्णले स्थानीय नरेन्द्र महराको नाममा किटानी जाहेरी दिएका छन् । नरेन्द्रले मृतक गणेशको घाटीमा समातेर टाउको सिमेन्टको भित्तामा ठोकेर घाइते बनाएको जाहेरीमा उल्लेख छ ।
अर्का स्थानीय दान सिंह महरा र कमल सिंह महरालाई पनि झिकाएर अनुसन्धान गरिनुपर्ने जाहेरीमा उल्लेख छ ।
यही बैसाख २ गते घर नजिकै सडकमा लडेर घाइते भएको भन्दै ११ दिनपछि बैसाख १३ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अस्पतालले अक्सिजनसहित सोमबार घर पठाएको र मंगलबार महराको मृत्यु भएको आफन्तले बताएका छन् ।
शव २ दिनदेखी जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।






















