बैतडीको सिगासले राष्ट्रिय परिचयपत्र नबनाएका जेष्ठ नागरिकको विवरण संकलन गर्दै

Image

बैतडीको सिगास गाउँपालिकाले राष्ट्रिय परिचयपत्र नबनाएका जेष्ठ नागरिकहरुको विवरण संकलन गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहकार्यमा जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तीहरुको वडा कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न लागेको हो ।

सामाजिक सुरक्षा भत्ता लगायतका सेवाहरुमा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले उक्त परिचयपत्र नबनाएका व्यक्तीहरु वैशाख १४ गतेदेखी वैशाख २४ गतेसम्म वडाकार्यालयमा गएर विवरण भर्न सक्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
यस्तै नागरिकताको प्रमाणपत्रमा केरमेट, झुत्रो तथा नबुझीने भएका जेष्ठ नागरिक, अशक्त अपाङ्गता भएका व्यक्तीहरुको नागरिकताको प्रतिलिपीका लागि पनि विवरण संकलन गरिने उनले बताए ।

आइतबारदेखी गाउँपालिकाका नौ औटै वडा कार्यालय मार्फत नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचयपत्रका लागि अनुसुचि भर्ने काम भैरहेको छ । जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकताको प्रतिलिपी तथा राष्ट्रिय परिचयपत्र लिन नसक्नेहरुका वृद्धवद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तीहरुको सहजताका लागि गाउँपालिकाले विवरण संकलन गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

६० वर्षमाथिका दलित र ७० वर्ष माथिका गैरदलित र अशक्त अपाङ्गता भएका व्यक्तीहरुको नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

“संकलन गरिएको विवरणको ढड्डासहित गाउँपालिकाका कर्मचारीले जिल्ला प्रशासन कार्यालय गएर रुजु गर्नेछन् । सहायक प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय परिचयपत्र बनाउने टोली गाउँपालिकामा आएर नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराइनेछ” गाउँपालिका अध्यक्ष धामी भने “सेवाग्राही सदरमुकाम जानु परेन ।”

सरकारले बैंक खाता खोल्न, सामाजिक सुरक्षा भत्ता र सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्