बैतडीको पाटन नगरपालिका – ६ का विभिन्न टोलहरुमा विद्युतको हाइभोल्टेजले उपकरणहरुमा क्षति पु¥याएको छ । विद्युत आउने जाने क्रममा आइरहेको हाइभोल्टेजले विद्युतीय उपकरणहरुमा क्षति पुगेको यहाँका स्थानीयहरुले बताएका छन् ।
वडाका मानिकाखान, तिल्कुडा, भूण, माथिल्लो टाकुले लगायतका गाउँमा विद्युतको हाइभोल्टेजले विद्युतीय उपकरणहरुमा क्षति पुगेको स्थानीय उद्धवराज पन्तले जानकारी दिए । घर तथा पसलहरुमा विस्तार गरिएको लाइनमा क्षति पुग्नुका साथै विद्युतीय उपकरणहरु बल्ब, पावर सकेट, मल्टीप्लक, टेलिभिजन, फ्रीज, चार्जर लगायतका उपकरणहरुमा पूर्ण क्षति पुगेको पन्तले बताए ।
बुधबारदेखि अकस्मात आउने हाइभोल्टेज करेन्टका कारण फ्रीज, स्पीकर र चार्जर गरी डेढ लाख रुपैया बराबरको क्षती पुगेको स्थानीय व्यवसायी कैलास चन्दले बताए ।
त्यहाका सबै टोलहरुमा करिब अढाइ लाख रुपैया बराबरका विद्युतीय उपकरणहरुमा क्षति पुगेको स्थानीयहरुले गुनासो गरेका छन् ।
विद्युत वितरण केन्द्र बैतडीका अनुसार विद्युत लाईनमा हाइभोल्टेज करेन्टका कारण दिनहु विद्युतीय उपकरणमा क्षति पुगिरहेको अर्का स्थानीय सुरज बिष्टले बताए ।
‘३ दिनअघि एक दर्जन बल्वहरु फ्युज भएका हुन, तारहरुमा पनि क्षति पुगेको छ, हिजो पनि बल्ब र चार्जरहरुमा क्षति पुग्यो,’ उनले भने ।
हाइभोल्टेजका कारण विद्युतीय उपकरण प्रयोग गर्न समेत नसकिएको उनले बताए । विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जर्नादन पौडेलले प्राविधिकहरुलाई फिल्डमा खटाएको र समस्याको पहिचान गरेपछि समाधान गरिने बताए ।
११ केभी लाईनको कारण यस्तो समस्या आएको आँकलन गरिएको र उक्त टोलहरुमा कालो तार राख्नको लागि पहल थालिने प्रमुख पौडेलले बताए ।





















