बैतडीका स्थानीय तहले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस दिन थालिएका छन् । यहाँका छ स्थानीय तहहरुले अनलाइनको माध्यमबाट नागरिकताको सिफारिस दिन थालेका हुन् ।
पाटन, दशरथचन्द, मेलौली, पुर्चाैडी नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका वडाहरुले अनलाइनबाट नागरिकताको प्रमाणका लागि अनलाइन सिफारिस सेवा सुरु गरेका जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्टले जानकारी दिए । मंगलबारदेखी पाटन नगरपालिकामा यो सेवा सुरु भएको उनले बताए । वडाहरुले अनलाइन मार्फत सिफारिस गर्न थालेपनि सबै ठाउँमा यसका लागि आवश्यक इन्टरनेट सुविधा नहुँदा समस्या हुने गरेको छ ।
अनलाइन प्रणालीबाट सिफारिस दिन थालेपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने पाटन नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरिश बिष्टले बताए । अनलाइनको माध्यमबाटै सिफारिसको काम हुने भएपछी सेवाग्राहीलाई सहज सेवा हुने अपेक्षा गरिएको उनको भनाई छ ।
नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपी लागि वडाबाटै अनलाइनको माध्यमबाट सिफारिस गर्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। सेवाग्राहीलाई काजगात नमिलेर कार्यालयमा पुगेर खाली हात फिर्ता हुने झन्झटको अन्त्य भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । प्रविधिको प्रयोग बढाउदै कार्यालयका सेवाहरुलाई प्रविधिमैत्री बनाउन र सेवाग्राहीहरुको सहजताका लागि नागरिकताको सिफारिस अनलाइन प्रणालीबाट दिन सुरु गरिएको उनले जानकारी दिए ।
“नागरिकताको सिफारिस अनलाइनबाट दिन थालेपछि सेवाग्राहीलाई आवश्यक कागजात पुगे नपुगेको त्यही बेला वडा कार्यालयमै थाहा हुन्छ” प्रजिअ उपाध्यायले भने “त्यसकारण कागज कार्यालयमा पुगेर सेवाग्राहीले फिर्ता हुनुपरेन ।”
जिल्ला प्रशासन कार्यालयले बाँकी रहेका स्थानीय तहहरुमा पनि यो सेवा सञ्चालनको तयारी गरेको छ । वैशाख महिनाभित्र वडाअध्यक्ष र वडासचिवहरुलाई अभिमुखिकरण तालिम दिएर असारसम्म सवै स्थानीय तहहरुका वडाहरुमा नागरिकताको सिफारिस अनलाइनको माध्यमबाटै गरिने प्रजिअ उपाध्यायले बताए ।




















