‘अशक्तको घरमा प्रजिअ’ : अस्मिताले घरमै पाइन् नागरिकता

Image

बैतडी, १८ भदौः बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । ‘क’ वर्गको अपाङ्गता भएकी १७ वर्षीया पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन कठिनाइ हुने भएपछि प्रशासनले घर नजिकै पुगेर सेवा दिएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्यालसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी पन्तको घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । सेवाग्राहीलाई सहज र सरलरूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरनजिकै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

अस्मिताले नागरिकता प्राप्त गरेपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउनेछिन् ।
जिल्ला प्रशासन कार्यालय बैतडीले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ ।

“दशवटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण सङ्कलन गरिरहेका छन्”, प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उहाँहरूको घरपायक पर्ने ठाउँमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्छाैँ।”

प्रतिक्रिया जनाउनुहाेस्