बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्समार्फत कृषि उपज ढुवानी गर्न थालेको छ। किसानहरुले उत्पादन गरेका कृषि उपजलाई उनीहरुको बारीबाटै संकलन गरी बजारसम्म ढुवानी गर्न थालेको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्कीका अनुसार नगर क्षेत्रभित्रका किसानले उत्पादन गरेका ताजा तरकारी तथा फलफूल न्यूनतम शुल्कमा बजारसम्म ढुवानी भइरहेको छ। नगरपालिकाले ढुवानीका लागि निश्चित भाडादर निर्धारण गरी कृषि एम्बुलेन्समार्फत सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो।
“किसानको मागअनुसार कृषि एम्बुलेन्स उनीहरूले तोकेको स्थानमै पुगेर कृषि उपज संकलन गर्ने र बजारसम्म पु¥याउने व्यवस्था गरिएको छ।” कार्कीले भन्नुभयो, “बजारमा लाग्ने सामान्य ढुवानी शुल्कभन्दा करिब ५० प्रतिशत कम भाडादरमा सेवा उपलब्ध गराइएको छ।”
नगरपालिकाले ११ वटै वडाका गाउँमा कृषि एम्बुलेन्स पुग्ने गरी नियमित समयतालिका समेत मिलाएको जनाएको छ। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि कृषि उत्पादनको सहज बजारीकरण, ढुवानी खर्चमा कमी तथा समयको बचत भएको किसानहरूले बताएका छन्।
दशरथचन्द नगरपालिका–१० का किसान धनबहादुर चन्दले उत्पादन बिक्री गर्न सहज भएपछि खेती विस्तार गर्ने उत्साह बढेको बताउनुभयो। उहाँले कृषि एम्बुलेन्सले किसानको श्रम र समय दुवै बचत गरेको उल्लेख गर्नुभयो।
कृषि एम्बुलेन्स खरिदका लागि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ लाख ५० हजार रुपैयाँ तथा नगरपालिकाले पनि १२ लाख ५० हजार रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ लगानी गरेका छन्।
कृषिको व्यवसायीकरण, किसानको आर्थिक जीवनस्तर उकास्ने तथा कृषि उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरप्रमुख पुष्करराज जोशीले बताउनुभयो। उहाँका अनुसार यसले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न पनि महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।














