बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले माटो प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दशरथचन्द नगरपालिकाको सयुक्त साजेदारीमा माटो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
कृषि क्षेत्रको प्रवर्धन गरी किसानहरुलाई माटो सुहाउदो उब्जनी लगाउन प्रेरीत गर्न माटो प्रयोगशाला सञ्चालनमा आएको दशरथचन्द नगरपालिकाका कृषि शाखा विकास शाखा प्रमुख दिपक कार्कीले जानकारी दिनुभयो ।
यहाँका किसानहरुले ल्याएको माटोको नमुना निशुल्करुपमा परीक्षणगरी किसानहरुलाई उचित पृष्टपोसण प्रदान गरिने उहाले बताउनुभयो ।
यसैगरी दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रभित्रका किसानहरुका लागि बजारीकरणमा सहयोग गर्नको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । कृषि एम्बुलेन्स मार्फत किसानहरुले फलाएको उब्जनीलाई बजारसम्म पुर्याउनको लागि सहज हुने कृषि विकास शाखा प्रमुख कार्कीले बताउनुभयो ।
मंगलबार दशरथचन्द नगरपालिकाको स्थापना दिवसको अवसरमा कृषि एम्बुलेन्स र माटो परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको हो ।





















