महाकालीमा बगेर बेपत्ता भएका बैतडीका चन्द मृत फेला

Image

बैतडी: महाकाली बगेर बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्द मृत फेला परेका छन् । महाकाली नदी किनारमा भारतीय क्षेत्रमा शुक्रबार बिहान पौने ११ बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।

गएको मंगलबार बिहान साढे ११ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा चन्द हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए । भारतको चम्पावत जिल्लाको डुङ्गालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदी किनारमा चन्दको शव फेला परेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।

यो क्षेत्र पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टी रहेको बताइएको छ । महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समेत सहकार्य गरिएको थियो ।

एसएसबीको टोलीले नै उनको शव फेला पारेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्