बैतडी — सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीको २५औँ वार्षिकोत्सवको अवसरमा नं. ५१ गुल्म हे.क्वा. बैतडीले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ।
वार्षिकोत्सवलाई लक्षित गर्दै गुल्मले सीमावर्ती क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै मठ–मन्दिरहरूको सरसफाइ पनि गरेको नं. ५१ गुल्म हे.क्वा. बैतडीका प्रमुख, सशस्त्र प्रहरी नायब उपरिक्षक जंग बहादुर कुँवरले जानकारी दिए ।
यसैगरी जिल्ला अस्पताल बैतडीमा उपचाररत १५ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको छ भने अनाथालय तथा छात्रावासमा रहेका बालबालिकालाई खाजा तथा फलफूल वितरण गरिएको छ।
त्यस्तै, सीमा अपराध तथा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको गुल्मले जानकारी दिएको छ। साथै, ग्यास सिलिन्डरमा हुने आगलागी नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन गरी सर्वसाधारणलाई सचेतना प्रदान गरिएको छ।
यस्ता कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।





















