बैतडी: बैतडीको सुर्नया गाउँपालिकामा जेनजी तथा जेनवाइ समूह र गाउँपालिकाबीच अन्ततः सहमति भएको छ। बुधबार अबेरसम्म चलेको दुई पक्षीय छलफलपछि सहमति जुटेको जेनजी–जेनवाइ समूहका प्रतिनिधि देव बहादुर चन्दले जानकारी दिएका छन्।
सहमतिसँग जोडिएका विषय कार्यान्वयन गर्न आजै बसेको कार्यपालिका बैठकले बहुमतका आधारमा निर्णय समेत गरेको छ। मुख्यतः श्रोत नखुलेका तथा फेजआउट भएका कार्यक्रमअन्तर्गत कार्यरत कर्मचारीलाई बिदाइ गर्ने विषयमा कार्यपालिकाले बहुमतबाट निर्णय गरेको हो।
“हामीले अघि सारेका अधिकांश माग सम्बोधन भएका छन्। श्रोत नभएका र फेजआउट भएका कार्यक्रमका कर्मचारी हटाउने विषयमा लामो छलफलपछि सहमति जुटेको छ,” जेनवाइ प्रतिनिधि चन्दले भने।
यस निर्णयअनुसार ५ जना कर्मचारीको बिदाइ गरिने बताइएको छ। यसअघि गत असोज महिनामा जेनजी र जेनवाइ समूहले ११ बुँदे माग अघि सार्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।
यद्यपि, कर्मचारी तत्काल बिदाइ गर्ने विषयमा भने सबैको समान धारणा देखिएको छैन। वडा नम्बर ५ का अध्यक्ष केशव बिष्ट र वडा नम्बर ६ का अध्यक्ष मदनराज अवस्थीले उक्त निर्णयप्रति असहमति जनाएका छन्।
“पालिकामा ढिलो गरी बजेट बाँडफाँट भइरहेको अवस्थामा अहिले कर्मचारी हटाउँदा सेवा प्रवाह प्रभावित हुन सक्छ। असार मसान्तसम्म कायम राख्नुपर्छ भन्ने मेरो धारणा हो,” वडा नम्बर ६ का अध्यक्ष अवस्थीले बताए।




















