बैतडीमा थपिए ८७ नयाँ क्षयरोगका बिरामी, परीक्षणमा नआउँदा चुनौती

Image

बैतडी: बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। यस वर्ष ६६ जना पुरुष र २१ जना महिला गरि ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

गत आर्थिक वर्षमा २०३ जना क्षयरोगका बिरामी फेला परेकोमा यो वर्ष ८७ जनामा क्षयरोग पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

नयाँ फेला परेको ८७ जनाले नियमीत औषधी सेवन गरिरहेका उहाँले बताउनुभयो । सुचना अधिकारी कार्कीका अनुसार यो अवधीमा ३ पुरुषको क्षयरोगका कारण मृत्यु भएको छ ।

क्षयरोगीको पहिचानका लागि जिल्लामा अभियानलाई तिव्र पारिएको छ । विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोग पहिचान अभियानलाई तीव्र बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।

“क्षयरोगका बिरामी परीक्षणमा नआउँदा चुनौती थपिएको छ ।” कार्यालय प्रमुख भटट्ले भन्नुभयो,“बेलाबेला शिविर सञ्चालन गर्दा पनि परीक्षणका लागि समस्या भएको छ ।”

सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका अभियान’ समेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

मंगलबार विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय बैतडीले सञ्चारकर्मी तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा क्षयरोगको समयमै पहिचान र उपचारका लागि जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन्।
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित मार्च २४ का दिन विश्व क्षयरोग दिवस मनाइन्छ। यस दिवसले क्षयरोग नियन्त्रणका लागि जनचेतना फैलाउने र रोगको समयमै पहिचान तथा उपचारमा जोड दिन प्रेरित गर्ने उद्देश्य राखेको छ।

नेपालमा प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक मानिएको क्षयरोग नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्